प्रधानमन्त्री देउवाले गरे टाइफाइडविरुद्धको खोपको उद्घाटन

प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् ।

काठमाडौंको रानीपोखरीस्थित दरबार हाइस्कुलमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोपको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिड सङ्क्रमण नियन्त्रणमा सफलता पाएजस्तै टाइफाइड नियन्त्रणमा पनि सफलता पाउने विश्वास व्यक्त गरे । यस अभियानबाट देशका १५ महिनादेखि १५ वर्ष उमेर समूहका करिब ७५ लाख बालबालिका लाभान्वित हुने प्रधानमन्त्रीको भनाइ छ ।

राष्ट्रिय खोप कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकताको रूपमा लिएको छ । नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र टाइफाइड रहेको देखिएको छ ।

खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।