“इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२”बाट गजेन्द्र बुढाथोकी सम्मानीत

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इन्जा खोजी पत्रकारिता पुरस्कार टक्सार आर्थिक म्याजगिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीलाई दिएको छ ।

पत्रकार बुढाथोकीले नेपालमा बहुराष्ट्रिय कम्पनी कोकाकोलाले स्थापनाकालदेखि नै स्वामित्व किनबेच हुँदा नेपाल सरकारलाई तिर्नुपर्ने आयकर, आकस्मिक लाभकर, पुँजीगत लाभकर छलीका चक्रबारे विस्तृत तहगत खोज गरि नेपाल सरकारको अनुसन्धान प्रक्रियामा विशेष योगदान दिएको मूल्यांकन गर्दै इन्जाले “इन्जा खोजी पत्रकारिता पुरस्कार २०२२” दिने निर्णय गरेको इन्जाको प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

विगत २७ वर्षदेखि निरन्तर पत्रकारिता गर्दै आएका बुढाथोकीले न्युज कारोबार डटकम, टक्सार आर्थिक म्यागजिन, लुम्बिनी सञ्चार डटकम अनलाइनमार्फत् १५ महिनाको अवधिमा ३५ भन्दा अधिक निरन्तर खोजी तथा फलोअप गरी नेपाल सरकारलाई तिर्नुपर्ने राजस्व छली भएको विषयलाई सार्वजनिक सरोकारमा ल्याएका थिए ।

सन् २०२१ भरिमा नेपालबाट प्रकाशित तथा प्रसारित खोजी समाचारहरुमध्यबाट इन्जाले पत्रकार वुढाथोकीलाई चयन गरेको इन्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

अमेरिकाको राजधानी वाशिङटनमा मुख्यालय रहेको इन्जाको खोजी पत्रकारिता पुरस्कारको राशी एक हजार अमेरिकी डलर रहेको छ । इन्जले खोजी पत्रकारिता पुरस्कारको अलावा हरेक वर्ष एक हजार अमेरिकी डलर राशीको इन्जा ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । यस वर्षवाट इन्जा पत्रकारिता वौद्धिक पुरस्कार समेत थप गर्न लागेको बताईएको छ ।