प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउने बताएका छन् ।
मंगलबार काठमाडौंको चोभारमा सुक्खा बन्दरगाह भन्सार कार्यालयको उद्घाटन गर्दै उनले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा बिशेष ध्यान दिनुपर्ने धारणा राखे । प्रधानमन्त्री देउवाले अन्तराष्ट्रिय बजारमा स्वदेशी सामानको प्रवर्द्धन र औद्योगिक विकासमार्फत रोजगारी सृजना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए । सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्यकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ छ ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो । सुक्खा बन्दरगाह सञ्चालनमा आएसंगै अब तेस्रो मुलुकबाट आउने वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ ।