क्यालिफोर्नियाको सुन्दर शहर सन् फ्रान्सिस्कोमा नेपाली नँया वर्षको अवसरमा ९ अप्रिल,२०२२ का दिन हुन लागेको बहु प्रतिक्षित ‘नेपाल डे परेड’ को सम्पूर्ण तयारी पुरा भएको छ।
४ अप्रिल, २०२२ मा काठमान्डौं मा सम्पन्न एक पत्रकार सम्मेलनमा ‘नेपाल डे परेड’ को सम्पूर्ण तयारी पुरा भएको बताईएको छ । परेड मुल आयोजक समितीका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघका अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले सो समितीका संयोजक वेष्ट रिजन चेअर श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था समन्वय समिती का सभापति उत्तम कार्कीले तयार गरेको प्रेस वक्तव्य मार्फत सो जानकारी दिनुभएको थियो।
अप्रिल ३ मा नै सहभागी संस्था समन्वय समितीका सभापति उत्तम कार्कीले ‘जुम’ मार्फत एक समिक्षा बैठक बोलाउनु भएको थियो । जस्मा नेपाल सरकारका तर्फबाट क्यालिफोर्नियाका महा वाणिज्य दूत ॠषि ढकाल, पर्यटन दूत घन प्रसाद दबाडी, महिला उपाधक्ष दिक्षा बस्नेत, वेष्ट रिजन का श्रीराम थापा, क्यालिफोर्निया च्याप्टर अध्यक्ष लगायत संस्था प्रमुखहरुको बाक्लो उपस्थिती रहेको थियो । बैठकले सम्पूर्ण तयारी पुरा भएको निर्णय गर्दै सो कार्यक्रमको तयारीमा जुट्ने प्रतिवद्धता जनाएको छ।
नव बर्ष २०७९ को पूर्व सन्ध्यामा अप्रिल ९, २०२२ मा हुन लागेको यो परेडको उद्देश्य नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने रहेको छ। परेडले नेपाललाई पर्यटन गन्तव्यको रुपमा विदेशीहरुलाई आकर्षण गर्ने अपेक्षा गरेको छ। गैर आवासिय नेपाली संघ अमेरिकाको वेष्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सकृयतामा हुन लागेको यो कार्यक्रममा क्यालिफोर्नियाका ५० भन्दा धेरै संस्थाहरुको सह-आयोजकको रुपमा सहभागिता रहेको छ ।
परेडमा विभिन्न जातजातिका भेषभुषा र झांकी सहित लाखे नाच गरिने र पन्चे बाजासमेत बजाईने कुरा पनेरुले बताउनुभयो। परेड पछि अप्रिल ९ तारीखकै साँझ भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने छ । जस्मा सुप्रसिद्ध कलाकारहरुको प्रस्तुति रहने छ।
अमेरिकाका बिभिन्न राज्यहरुबाट समेत बाक्लो उपस्थिती रहने सो परेड आँफैमा एक उत्सव हुने कुरा आयोजकहरुले बताएका छन्।