यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को ‘ड्र’ आज हुदैछ । शुक्रबार हुने ‘ड्र’ का लागि विश्व फुटबल नै प्रतिक्षामा छ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अनुसार विश्वकपको ‘ड्र’ आयोजक राष्ट्र कतारको दोहामा स्थानिय समयअनुसार ४ बजे अर्थात् नेपाली समय अनुसार ११ः४५ मा सुरु हुनेछ।
विश्वकपमा छनोटभएका टिमहरु ८ समूहमा बाँडिनेछन्। प्रतियोगिताको आयोजक समितिले स्वीकृत गरेको कार्यविधिले अन्तर्राष्ट्रिय खेलको समापनपछि मार्च ३१ मा जारी फिफा विश्व वरीयतामा आधारित रहेर खेलकुद सिद्धान्त अनुसार पोट १ देखि ४ सम्मका ३२ टोलीलाई बाँडफाँड गरिने छ।
कतार विश्वकपको लागि हालसम्म आयोजक कतारसहित २९ राष्ट्र छनोट भइसकेका छन्। छनोट हुनेमा आयोजक राष्ट्र कतार, जर्मनी, डेनमार्क, ब्राजिल, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्विया, इंग्ल्यान्ड, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड्स, अर्जेन्टिना, इरान, दक्षिण कोरिया, जापान, साउदी अरब, इक्वेडर, उरुग्वे, क्यानडा, घाना, सेनेगल, पोर्चुगल, पोल्यानड, ट्युनिसिया, मोरोक्को, क्यामरुन, अमेरिका र मेक्सिको रहेका छन्।
अब अन्तर्राष्ट्रिय प्ले अफबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछ। विश्वकप खेल्ने ३२ टोलीमध्ये २८ टोलीलाई चारमध्ये एक पटमा राखिनेछ।
कतार आयोजक राष्ट्रका रुपमा शीर्ष वरियताका सातौसम्मको टोली रहने पट १ मा हुनेछ। यो पोटमा बेल्जियम, ब्राजिल, फ्रान्स, अर्जेन्टिना, इंग्ल्यान्ड, स्पेन र पोर्चुगल रहेका छन्।
८ देखि १५ औं स्थानको वरीयतामा रहेका टोली पट २ मा रहनेछन्। पट २ मा डेनमार्क, नेदरल्यान्ड्स, जर्मनी, मेक्सिको, अमेरिका, स्वीट्जरल्यान्ड, क्रोएसिया र उरुग्वे रहेका छन्।
त्यस्तै, १६ देखि २३ औं वरीयतामा रहेका टोलीहरु पोट ३ मा राखिनेछन्। पट ३ मा सेनेगल, इरान, जापान, मोरोक्को, सर्विया, पोल्यान्ड, दक्षिण कोरिया र ट्युनिसिया रहेका छन्।
त्यस्तै, पोट ४ मा २४ देखि २८ औं स्थानका वरीयताको टोलीहरु राखिनेछन्। पट ४ मा साउदी अरेबिया, इक्वेडर, घाना, क्यामरुन र क्यानडाका साथै अन्तर्राष्ट्रिय प्ले अफबाट आउने विजेता टोली रहनेछ।
यसै पोटमा अन्तरमहादेशीय प्ले–अफका विजेताहरु र यूईएफए प्ले–अफको विजेताहरू सामेल हुनेछन्। अन्तर महादेशीय छनोटका खेलहरु जुन १३ र १४ मा कतारमा हुनेछ। जसमा अफ्रिका र कन्मेवल, ओएफसी र कोन्काफसँग प्रतिस्पर्धा गर्नेछ। एकै कन्फेडेरेसनका टोलीलाई विभिन्न समूहमा विभाजन गरिनेछ।
नतिजाको रुपमा आठ समूहमध्ये पाँचमा दुई युरोपेली टोली हुनेछन्। फिफाले प्लेअफबाट छनोट हुने टोलीलाई उनीहरुको एकै कन्फेडेरेसनका टोलीबाट अलग रहने स्पष्ट पारेको छ।
विश्वकपमा अफ्रिकाबाट ५, एसियाबाट ४ र (प्लेअफबाट १ प्लस), युरोपटबा १३, कोन्काफबाट ३ (प्लेअफबाट १ प्लस), ओसियानाबाट (प्लेअफबाट १ प्लस) र कन्मेवलबाट ४ (प्लेअफबाट १ प्लस) छनोट हुने प्रावधान रहेको छ।
सामान्यतया २०२२ को विश्वकप समरमा हुने तालिका थियो। कतारमा हुने गर्मिका कारण तालिका पछि सरिएको थियो। यसपटकको विशवकप २१ नोभेम्बर २०२२ बाट शुरु भएर १८ डिसेम्बर २०२२ सम्म चल्नेछ।