कतार विश्वकप छनोट अन्तर्गत अफ्रिकी महादेशको प्लेअफमा इजिप्टलाई हराउँदै सेनेगलले विश्वकपमा स्थान बनाएको छ । मंगलबार राति भएको प्लेअफको दोस्रो लेगमा सेनेगलले इजिप्टलाई टाइ्रब्रेकरमा ३-१ गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा बोउलाए डियाले तेस्रो मिनेटमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् । पहिलो लेगमा इजिप्टले १-० गोलले विजयी भएकाले समग्रमा खेल १-१ को बराबरी भएपछि विजेताको निर्णय टाइ्रब्रेकरबाट गरिएको हो ।
टाइ्रब्रेकरमा सेनेगलका साडियो माने, बाम्बा र इस्माइला सारले गोल गरे । इजिप्टका अमर इल सोलियाले मात्र गोल गर्न सके । मोहमद सलाह, मोस्ताफा मोहमद र अहमेद सायद टाइ्रब्रेकरमा चुके । सेनेगलसँगै अफ्रिकाबाट क्यामरुन, घाना, मोरक्को र ट्युनिसिया कतार विश्वकपमा छनोट भएका छन् । इजिप्ट र सेनेगलले यसै वर्ष अफ्रिका कप अफ नेसन्सको फाइनल खेल खेलेका थिए । जसमा सेनेगलले इजिप्टलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै च्याम्पियन बनेको थियो ।
इजिप्टियन फुटबल संघले आफ्नो टोलीले सेनेगलसँगको विश्वकप प्लेअफको पराजयमा जातिवाद र धम्कीको शिकार भएको बताएको छ । जुन मोहम्मद सलाहलाई लक्षित गरिएको थियो। लिभरपुल फरवार्ड सलाहले शूटआउटमा निर्णायक पेनाल्टी गुमाउनु अघि उनको अनुहारमा लेजरहरू चम्केका थिए ।
स्ट्यान्डबाट दुर्व्यवहारको साथसाथै, टोलीलाई डकारमा खेल हुनु अघि बसमा ढुङ्गा र बोतलले आक्रमण गरेको दाबी इजिप्टियन फुटबल संघको छ ।