सरकारले आफै संविधान मिच्ने ? भन्दै कड्किए सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधानको मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् ।

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धको खोप अभियानको निरीक्षणका क्रममा नेता सिंहले निर्वाचन आयोगले संविधान र कानूनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवश्यक प्रक्रिया पुर्याएर निर्वाचनको मिति तय गर्नुपर्ने बताएका हुन् । उनले वर्तमान सत्ता गठबन्धन र सरकार नै संविधान र लोकतन्त्रको रक्षा गर्ने सन्दर्भमा निर्माण भएकाले यो सरकारले संविधान मिच्न नमिल्ने तर्क गरे । तत्कालीन कम्युनिष्ट सरकारले म्याण्डेड बमोजिम कार्य गर्न नसकेको र संविधानलाई भंग गर्ने प्रयास गरेकाले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको उनको भनाइ छ ।

यस्तै मंगलबार नै बागमती करिडोरका बारेमा जानकारी लिँदै नेता सिंहले बागमती नदी किनारमा स्थानीयको प्रयासमा निर्माण भएका पार्कलाई एकीकृत बागमती आयोजनाले मास्न नहुने बताए ।

उनले बागमती किनारमा रहेका पार्क बगैंचा निर्माण गरिरहेका संघसंस्था र स्थानीयहरुसँग छलफल पनि गरेका थिए ।