साँखु शालीनदीस्थित माधवनारायण व्रतका व्रतालुले तीर्थयात्राका क्रममा आर्यघाटमा स्नान गरी पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवम् दर्शन गरेका छन् ।
पशुपतिनाथ मूल मन्दिरमा पूजा आराधना एवम् दर्शनका लागि व्रतालु सोमबार साँझ पशुपति क्षेत्रमा आएर बास बसेका थिए । व्रतालुले बुधबार बिहान स्नान गरी पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथको दर्शनपछि उनीहरुले ताम्रेश्वरमा पुगी अघ्र्यदान गरेका छन् । ताम्रेश्वरमा अघ्र्यदानपछि व्रतालु पैदल हिँडेर सलम्पाख भनिने सानोगौचरणमा आएर भोजन गर्ने परम्परा छ । भोजनपछि व्रतालु सिंहदरबार हुँदै दक्षिणकाली नगरपालिकाको शेषनारायणमा गएर बास बस्छन् । माघ कृष्ण चतुर्दशीदेखि नै माधवनारायणका व्रतालुले तीर्थयात्रा गर्छन् ।
कोरोनाको तेस्रो लहर फैलिरहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर माधवनारायणको व्रतविधि पूरा गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समितिले जनाएको छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ । व्रतमा यसवर्ष १०६ जना महिला र १९ पुरुष गरी १२५ जना व्रत बसेका छन् । माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवम् सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।
हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवम् श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।