रुस र युक्रेनबीच आन्तरिक द्वन्द्व चर्किरहेका बेला अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्न निर्देशन दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्ने विषयमा विचार गर्न निर्देशन दिएको हो ।
रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । जसकारण रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाइरहेको संकेत गरेको प्रक्षेपण गरिएको छ । यद्यपि रुसले यस कुरालाई अस्वीकार गर्दै आएको छ ।
यता अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएर रुसविरुद्ध उभिएको थियो । रुसले आक्रमण गर्ने सम्भावना देखेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई युक्रेन छाड्ने आदेश जारी गरेको अनुमान गरिएको छ ।