स्थानीय तहको निर्वाचन वैशाखमै हुने सहमति, यस्ता छन् सत्ता गठबन्धन बैठकको निर्णय

सत्तारूढ गठबन्धन दलहरुबीच संविधान र कानूनले तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सरकारलाई सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा निर्वाचनसँग जोडिएका विषयमा छलफल गर्दै तोकेको समय सीमाभित्रै स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको सञ्चारमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए, स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्नेगरी निर्वाचन आयोगसँग छलफल गरेर मन्त्रीपरिषद्बाट मिति तोकिने उनले बताए । बैठकमा राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि छलफल भएको कार्कीले जानकारी दिए ।

राष्ट्रियसभाको एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुँदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।