किराना व्यवसायी संघ चितवनले आज पनि आफ्नो बन्द जारी राखेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक व्यवसायीलाई बिना कुनै ठोस आधार तीन लाख जरिवाना गरेको भन्दै व्यवसायीहरुले आज पनि पसलहरु बन्द गरेका हुन् । बन्द हिजोदेखि सुरु गरिएको थियो ।
किराना व्यवसायी र प्रसाशनबीच हिजो बसेको दुई पक्षीय छलफलले न्यूनतम जरिवाना लगाउने भनिएपनि जरिवाना नघटाएको भन्दै व्यवसायीहरुले बन्दलाई आज पनि निरन्तरता दिएको किराना व्यवसायी चितवनका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठले बताए ।
उनका अनुसार न्यूनतम ५ हजार देखि २० हजारसम्म जरिवाना तिर्नुपर्ने ठाउँमा प्रशासनले ३ लाख रुपैयाँ लगाएको छ । जरिवाना न्यूनतम नभएसम्म आफ्नो आन्दोलन नरोकिने दाबी समेत गरे ।
पहिलो पटकमा नै ठूलो रकम जरिवाना तोकेर व्यवसायीको हित विपरित भएको व्यवसायीहरुको गुनासो रहेको छ ।
अनुगमन समिति संयोजक समेत रहेका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वको टोलीले नारायणगढको पुतलीबजार स्थित गोरखनाथ किराना स्टोर्सलाई तीन लाख जरिवाना गरेको थियो ।