प्रधानमन्त्री शेर बहादुर देउवाले कोरोना महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका छन् ।
सोमबार बालुवाटारमा बसेको विपद न्यूनीकरण राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले नाकाका सबै क्षेत्रमा होल्डीङ सेन्टर र कोरोना परिक्षणका साथै महामारीसँग जुध्नका लागि आवश्यक सबै तयारी गर्न निर्देशन दिएका हुन् । होल्डीङ सेन्टर र आइशोलेशनका लागि ठाउँ अभाव भए खाली रहेका विद्यालयको समेत प्रयोग गर्नुपर्ने उनको भनाइ छ । खोप पर्याप्ततालाई बढाएर बुष्टर डोजका साथै सबै स्वास्थ्यसंस्थामा पर्याप्त अक्सिजनको व्यवस्था गरिने उनले बताए । प्रधानमन्त्री देउवाले हरहालतमा जनताको ज्यान जोगाउनका लागि सरकारले कुनै कमी हुन नदिने स्पष्ट पारे । सबै भीडभाड हुने कार्यक्रमहरु रोक्ने र राजनीतिक दलहरुले पनि सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । प्रधानमन्त्री देउवाले कोरोनाको नयाँ भाइरस छिटो सर्ने भएकाले पनि थप जोखिमयुक्त रहेकाले सबै सचेत रहनुपर्ने उनको भनाइ छ ।
बैठकमा विपक्षी दल नेकपा एमालेका उपनेता सुवास नेम्वाङले कोरोना परिक्षणको दायरा बढाउन सुझाव दिए । स्वास्थ्यउपचारमा देखिने समस्याहरुलाई समयमा नै समाधान गर्न पनि उनले ध्यानाकर्षण गराए ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले खोप अभियानलाई तीब्रता दिइएको र तेश्रो डोजको पनि सुरुवात गरिसकेको जानकारी दिए । नेपाल भारत खुल्ला सिमाना रहेकाले पनि नेपालमा कोरोना संक्रमितको संख्या बढेको उनको भनाइ छ ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले भर्चुअल रुपमा प्रदेशमा कोरोनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । स्वास्थ्य मन्त्रालयले आगामी १० दिनसम्म कोरोना महामारी बढ्दै जाने र त्यसपछि भने घट्ने अनुमान गरेको छ । बैठकमा विपक्षी दलका नेता, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकायका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।