नेपालमा एकैदिन झण्डै ५ हजार जनामा कोरोना संक्रमण, रोकथामका लागि सरकारले धमाधम निर्णय लिँदै

नेपालमा आइतबार ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १२ हजार ५ सय ७३ पिसिआर परिक्षणका क्रममा ४ हजार ५ सय ३४ जना र २ हजार ५ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ४ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ५५ हजार २ सय ६ पुगेको छ । त्यस्तै कोरोनाका कारण हालसम्म नेपालमा ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय २० जनाले ज्यान गुमाएका छन् । त्यस्तै गत २४ घण्टामा ४ सय ३५ जना निको भएका छन् । हाल मुलुकभर २५ हजार ६ सय ८० सक्रिय संक्रमित आइशोलेशन र १ सय २१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले यही माघ १५ गतेसम्मलाई सिनेमा हल र जिम हल बन्द गर्ने निर्देशन जारी गरेको छ ।

तीब्र रुपमा फैलिरहेको कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थानमा भीडभाड गर्न र मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।