सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानमा रहेको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन बिमल घर्ती मगरले दुई गोल गरे । यस्तै रेजिन सुब्बा र अभिशेक रिजालले एक एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडले पहिलो हाफमा मछिन्द्रलाई गोलरहित बराबरीमा रोकेको थियो । खेलको ५६ औं मिनेटमा बिमलले गोल गर्दै मछिन्द्रलाई १–० गोलको अग्रता दिलाए ।
त्यस्तै, खेलको ६२ औं मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । खेलको ८४ औं मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को अग्रता दिलाए भने खेलको ८६ औं मिनेटमा मछिन्द्रका अभिशेक रिजालले गोल गरेका थिए । तर, अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । त्यसपछि खेलको इन्जुरी समयमा अभिशेकले गोल गर्दै मछिन्द्रलाई ४–० गोलको जित दिलाए ।
यस जितसँगै मछिन्द्रले ९ खेलमा २३ अंक जोडेको छ । शीर्ष स्थानको मछिन्द्रले लिगमा ४ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दीको १९ अंक रहेको छ । ब्रिगेड ९ खेलमा ६ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।