गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भट्टराईको व्यंग्य, राजनीतिक दलहरुलाई गम्भीर हुन आह्वान

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले राजनीतिक दलहरु गम्भीर भए मुलुकको आर्थिक समृद्धिमा कुनै समस्या नहुने बताएका छन् ।

राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले गफ गरेर मात्र मुलुकमा समृद्धि नआउने भन्दै समृद्धिका लागि राजनीतिक दलहरु गम्भीर हुनुपर्ने बताएका हुन् ।

भट्टराईले विज्ञहरूसँग ज्ञान, सीप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सके मुलुक समृद्ध बन्न सक्ने धारणा राखे । उनले मुलुकको आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रको सबै निकायबीच साझेदारी हुनुपर्ने बताए ।

औद्योगिक पूँजीवादी विकासको चरणमा नेपाल रहेको भन्दै उनले बित्तीय पूँजी, व्यापारिक पूँजी र औद्योगिक पूँजीबीचको सन्तुलन मिल्नुपर्ने उल्लेख गरे । उनले विकासको वाधक संरचनालाई बदल्न गरेको क्रान्ति पूरा नभएका कारण नै समस्या भएको जिकिर गरे ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।