धुर्मुस–सुन्तली फाउन्डेसनले ऋण तिर्न नसकेपछि निर्माणाधीन रंगशालाको स्वामित्व भरतपुर महानगरले लिने

धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको भन्दै भरतपुर महानगरलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिन आग्रह गरेका छन् । ऋण लाग्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरिएको हो ।

योसँगै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन् ।

मेयर दाहालले धुर्मुस–सुन्तली फाउन्डेसनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् ।

आइतबार भरतपुरमा आफ्नै कार्यालयमा कुरा गर्दै मेयर दहालले धुर्मुस–सुन्तली फाउन्डेसनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन् ।