नारायणहिटी दरबार परिसरको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन

नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो ।

सहसचिव लुइँटेलले समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिएका छन् । समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

सो समितिलाई नारायणहिटीभित्र बनिरहेको रेस्टुरेन्ट कति वैध र कति अवैध छ, त्यहाँ रेस्टुरेन्ट आवश्यक छ कि छैन, सम्झौता विपरीत कुनै काम भएको छ कि छैन र सम्झौताकै वैधानिकता कति छ भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको लुइँटेलले बताएका छन् ।