गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति (एनसीसी) अमेरिकाले ११ वटा विभाग गठन गरेको छ ।
बुधवार विज्ञप्ति जारी गर्दै समितिका महासचिव अन्जन कुमार चौलागाईले एनआरएन अमेरिकाको विधानको धारा ३६ उपधारा २ बमोजिम ११ वटा विभाग र टाक्सफोर्स गठन गरिएको जानकारी दिएका हुन् ।
समितिले वान एनसीसी वान च्यारिटि कमिटी, एनआरएनए फाउन्डेसन कमिटी, युवा विभाग, इनभाइरोमेन्ट कमिटी, सेक्रेटरियट कमिटी, हेल्प डेस्क कमिटी, ब्लड डोनेसन कमिटी, नेपाली प्रोडक्ट प्रमोसन कमिटी, विज्ञान तथा प्रविधि विभाग, स्वास्थ्य विभाग, विद्यार्थी विभाग गठन गरेको हो ।
एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तको संयोजकत्वमा ‘वान एनसीसी वान च्यारिटि’ कमिटी गठन गरिएको छ । सो कमिटीमा उप संयोजक र सदस्य भने खाली राखिएको छ । महाचिव चौलागाइका अनुसार समितिलाई पूर्णता दिने जिम्मा संयोजक पन्तलाई नै दिइएको छ ।
त्यस्तै, उपाध्यक्ष गोपेन्द्र भट्टराईको संयोजकत्वमा फाउन्डेसन कमिटी गठन गरिएको छ । सो कमिटीको सह संयोजकमा मुकेश झा रहेका छन् । यस्तै युवा विभागमा संदेश उप्रेती संयोजक नियुक्त भएका छन् भने विष्णु रेग्मीको संयोजकत्वमा इनभाइरोमेन्ट कमिटी, राज ढुङ्गानाको संयोजकत्वमा हेल्प डेस्क कमिटी, संयोजक विश्व राज बास्तोलाको नेतृत्वमा ब्लड डोनेसन कमिटी, संयोजक दुर्गेश जङ्ग कार्कीको नेतृत्वमा नेपाली प्रोडक्ट प्रमोसन कमिटी, डा माधव पाण्डेको संयोजकत्वमा विज्ञान तथा प्रविधि विभाग स्थापना गरिएको छ ।
स्वास्थ्य विभाग र विद्यार्थी विभागको संयोजकमा भने डा प्रकाश श्रेष्ठ र मिलन जङ्ग कटवाल क्रमश नियुक्त भएका छन् । त्यस्तै, अग्नि चौलागाईको सदस्यतामा सेक्रेटरियट कमिटी गठन गरिएको छ ।