प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी तथा कानून व्यवसायीहरुले आन्दोलन जारी राखेका हुन् । प्रधानन्यायधीशका कारण न्यायालय नै भ्रष्ट भएको भन्दै उनीहरुले राजीनामाको माग गर्दै निरन्तर आन्दोलन गरिरहेका छन् । अधिवक्ता कृतिनाथ शर्मा पौडेलले न्यायालयको सुधारको लागि आफूहरुको आन्दोलन भएको भन्दै प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बताए । न्यायपालिकाको विकृति र विसंगति हटाउनका लागि आफूहरुले उठाएको आवाजलाई सबैबाट समर्थन प्राप्त भएको उनले दाबी गरे ।
उनले न्यायपालिकाबाट स्वतन्त्र, निष्पक्ष, स्वच्छ, निर्भिक ढंगबाट न्याय सम्पादन हुनुपर्ने र त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने धारणा राखे । उनले झनै सशक्त आन्दोलन गर्ने चेतवनी समेत दिए ।