नारायणहिटी परिसरमा बनाइएको संरचना हटाएरै छाड्ने मन्त्री आलेको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसाबले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ विमानस्थलका विषयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आलले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीपरिषद्बाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् । उनले एकपटकका लागि नभएर सदासदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।

त्यस्तै सर्वदलीय बैठकमा निजगढ विमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्री लगायत सबै दल सहमत भएको उनले जानकारी दिए । काठमाडौं विमानस्थलको विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले ८ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको बताए । मन्त्री आलेले विमानस्थल नजिकको नदी संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने पनि बताए ।

उनले विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।