झिल्टुङ्ग क्रसकन्ट्री दौडको छैठौं संस्करण माघ ८ गते आयोजना हुने भएको छ ।
नुवाकोटको बेलकोटगढी वडा नम्बर ५ को आयोजना तथा काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा झिल्टुङ्ग क्रसकन्ट्री दौड हुन लागेको हो ।
दौड नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ कोल्पुटारबाट सुरु भएर बेलिनी, छाप, राजओडार, खड्गाछाप, सालचौर हुँदै पुन कोल्पुटारमा आएर समापन हुने रुट रहेको छ । जसमध्ये ४ दशमलव ५ किलोमिटर उकालो, २ किलोमिटर समथर र बाँकी बाटो ओरालो रहेको आयोजकले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा दौड संयोजक मोहन नेपालले झिल्टुङ्ग तथा नुवाकोटको पर्यटन प्रवर्द्धनका साथै झिल्टुङ्ग क्षेत्रका विद्यालयमा रहेका विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने लक्ष्य रहेको बताए ।
त्यस्तै नुवाकोटको बेलकोटगढी ५ का वडा अध्यक्ष अनन्तराम नेपालले झिल्टुङ्ग क्रसकन्ट्री दौडलाई अन्तराष्ट्रिय स्तरको बनाउने र झिल्टुङ्गलाई सबैतिर चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जानकारी दिए ।
क्रसकन्ट्री दौडलाई विकास गर्ने उद्देश्यले सुरुवात गरिएको झिल्टुङ्ग दौड खेलाडीलाई दौडने अवसर दिँदै लामो दूरीको दौडलाई सहयोग गर्ने लक्ष्य राखिएको आयोजकले जनाएका छन् ।