नेपाली कांग्रेसका नेता शेखर कोईरालाले नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुर्याउने अभियानमा विश्राम नलागेको बताएका छन् ।
बुधबार काठमाडौंमा आफू निकट नेताहरुको भेलालाई सम्बोधन गर्दै कोईरालाले पार्टीको महाधिवेशनले आफू पक्षीय केहीलाई महत्वपूर्ण जिम्मेवारीमा पुर्याएको र केहीलाई जिम्मेवारी बाहिर राखेपनि कांग्रेसलाई नयाँ उचाईमा पुर्याउने अभियानमा विश्राम नलागेको बताएका हुन् ।
उनले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा गरेको मनोनयनका विषयमा प्रश्न उठाउँदै मापदण्डका आधार प्रष्ट हुनुपर्ने धारणा राखे । कोईरालाले सभापतिको व्यक्तिगत रुचिका आधारमा व्यक्तिको छनोट भएमा पार्टी दुर्घटनामा पर्ने बताए ।
त्यस्तै उनले कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन आफूहरू एकताको सन्देश बोकेर देशभर जाने जिकिर गरे । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न एकढिक्का भएर प्रयत्न गर्नुपर्ने उनको भनाइ छ । कोईरालाले तीनै तहको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा ल्याएर र देशको मुहार कांग्रेसले मात्रै फेर्न सक्छ भन्ने अभियानमा कटिबद्ध रहेको धारणा राखे ।
त्यस्तै कांग्रेस उपसभापति धनराज गुरुङले उनले गुटगत व्यवहार भन्दा पनि न्यायोचित व्यवस्थालाई जोड दिने बताए । विधि र विधानका आधारमा पार्टीलाई चलाउन र रुपान्तरित गर्न आफूहरु छलफलमा जुटेको र यसलाई भेला भन्न नमिल्ने उनको भनाइ छ ।
कांग्रेस महाधिवेशनमा सभापतिमा पराजित भएका नेता शेखर कोइरालाले निरन्तर रुपमा आफू पक्षीय नेताहरु छलफल गर्दै आएका छन् ।