निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनशनमा बसेकी रुबी खान लगायतका महिलाहरुले आन्दोलनको कार्यक्रमलाई स्थगित गरेका छन् ।
सरकारसँग चारबुँदे सहमति भएपछि महिला अधिकार मञ्च नेपालगञ्जले सम्पूर्ण आन्दोलनको कार्यक्रम स्थगित गरेको हो । सरकारसँग भएको सहमतिमा न्याय पाउने बाटोमा अवरोध आए फेरि निरन्तर आन्दोलनमार्फत् खबरदारी गर्ने अधिकारकर्मी रुबी खानले बताइन् ।
उनले पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाँकेमा दिएको जाहेरीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मार्फत् अनुसन्धान गर्ने, साक्षी तथा अभियान्ताहरुको सुरक्षाको प्रत्याभूति गर्ने सहमति भएको बताइन् ।
त्यस्तै सरकारी प्रतिवेदन कार्यान्वयनमा प्रशासनिक सहजीकरण र सत्याग्रहसहितका आन्दोलन रोक्ने सहमति भएको उनले जानकारी दिइन् ।
घरेलु हिंसामा परेकी नन्कुन्नी धोबी र बेपत्ता भएकी निर्मला कुर्मीको न्यायका लागि दबाव दिन अधिकारकर्मीहरु ४० दिन भन्दा बढी काठमाडौंको माइतीघरमा रिले अनसनमा बसेका थिए । उक्त घटनामा यसअघि गृह मन्त्रालयको सह–सचिव नेतृत्वको छानबिन समितिले १४ कात्तिकमा गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा पूर्वसभासद् बादशाह कुर्मीको भूमिका शंकास्पद रहेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । साथै किटानी जाहेरीमा उल्लेखित अन्य ७ जनालाई पनि पक्राउ गरेर अनुसन्धान गर्न समितिले सुझाएको थियो । सरकारी प्रतिवेदनले गरेको सिफारिस कार्यान्वयन गर्न छाडेर प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारले चासो नदेखाएकाले उनीहरु आन्दोलित भएका थिए ।