अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा कृषि सामाग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भायरोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी बिज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामाग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
कम्पनीले गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार पार्न लगाई भुक्तानी गरेको र नेपाल इन्भायरोमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिले भने सो प्रतिवेदन तयार पारेको आरोप अख्तियारले लगाएको छ । सर्भिस प्रालिका प्रबन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरिएको छ ।
साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।