९ प्रतिशतले घट्यो धान उत्पादन, कारणका बारेमा अध्ययन हुँदै

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष ०७८/७९ मा धान उत्पादन झण्डै ९ प्रतिशतले घटेको जनाएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा ८.७४ प्रतिशतले कमी आएको जनाएको हो । विगत ५ वर्षमा भएका उत्पादनका अंकसँग तुलना गर्दा हालसम्मकै उत्पादन न्यून भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो आर्थिक वर्षमा ५१ लाख ३० हजार ६ सय ४ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षको तुलनामा धानबाली लगाइएको क्षेत्रफलमा करिब ४ हजार हेक्टरको सामान्य वृद्धि आएको छ भने उत्पादकत्व ८.६१ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ । धान उत्पादनमा कमी हुनुको कारण बेमौसमी वर्षा भएको कृषि मन्त्रालयले जनाएको छ ।

असोज अन्तिम साता भएको वर्षाले धानमा ठूलो क्षति पुर्याएको थियो, मन्त्रालयको प्रारम्भिक विवरण अनुसार चार लाख मेट्रिक टनभन्दा बढी धानमा क्षति पुगेको छ । पत्रकार सम्मेलनमा कृषि मन्त्री महिन्द्र राय यादवले धान उत्पादनमा कमी आउनुको कारणका बारेमा अध्ययन भइरहेको जानकारी दिए । किसानले उत्पादन गरेका वस्तुको बजारीकरणमा पनि समस्या देखिएको उनको भनाइ छ । उनले पर्याप्त मल भित्र्याउन सरकारले पहल गरेपनि सोचेजस्तो मल आपूर्तिको व्यवस्था गर्न नसकिएको जिकिर गरे ।

मन्त्रालयका अनुसार ६० देखि ६५ लाख मेट्रिक टन धान उत्पादन भए नेपाल धानमा आत्मनिर्भर हुन सक्छ । यस पटक कम्तीमा ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य कृषि मन्त्रालयले लिएको थियो ।