नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनले तीनवटा आयोगमा पुरानै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको छ ।
विधानअनुसारका तीन आयोगमा पुरानै नेतृत्वलाई पुनः जिम्मेवारी दिने निर्णय आइतबार भएको बन्दसत्रले गरेको हो ।
अनुशासन आयोगको अध्यक्षमा टंक राई, लेखा आयोगको अध्यक्षमा पेशल खतिवडा र निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठलाई जिम्मेवारी दिने प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ ।
जारी महाधिवेशनमा माओवादी केन्द्रको नेतृत्व चयन प्रक्रियाअन्तर्गत तीन आयोगको नेतृत्व सबैभन्दा पहिला टुंगिएको हो ।
नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ । बन्दसत्रले पारित गरेको नयाँ विधान अनुसार पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।