संसदीय मामिला तथा कानून मन्त्रालयले पहिलोपटक मानव अधिकार पुरस्कार वितरण गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मन्त्रालयले व्यक्तितर्फ शुद्धोधन गाउँपालिका–६ कपिलवस्तुका अधिवक्ता शैलेन्द्र प्रसाद हरिजन र संस्थातर्फ काठमाडौंको शक्ति समूहलाई मानव अधिकार पुरस्कार प्रदान गरेको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले विजेतालाई एक लाख ११ हजार एक सय ११ रुपैयाँ र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा देउवाले मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता अनुसार नेपालले आफ्नो आन्तरिक कानूनमा सुधार र समायोजन गर्दै लगेको बताए । मानवअधिकार प्रतिको नेपालको प्रतिबद्धताका कारण अन्तर्राष्ट्रिय मञ्चमा पनि नेपालप्रति विश्वास बढेको उनले बताए । उनले मुलुकको सबै नागरिकको मानवअधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको धारणा समेत राखे ।
मानव अधिकार पुरस्कार वितरण कार्यविधि २०७८ मा लेखिएअनुसार मानव अधिकारको संरक्षण र संवद्र्धनको क्षेत्रमा योगदान पुर्याएको एक व्यक्ति र एक संस्थालाई हरेक वर्ष मानव अधिकार पुरस्कारबाट सम्मान गरिन्छ । पुरस्कारको घोषणा हरेक वर्ष डिसेम्बर १० तारिखको दिन गरिन्छ ।