गंकी धुस्वा बसुन्धरा पुरस्कार २०७८ बाट उपन्यासकार निलम कार्की निहारिकालाई सम्मान गरिएको छ । गंकी धुस्वा बसुन्धरा प्रतिष्ठानका अध्यक्ष डा अरुण साय्मिको अध्यक्षतामा हालै बसेको बैठकले सो निर्णय गरेको हो ।
सम्मानस्वरुप कार्कीले ताम्रपत्रसहित नगद रु ५० हजारको पुरस्कार राशी प्राप्त गरेकी छन् ।
उपन्याससम्राट धुस्वा साय्मि र उनकी श्रीमती बसुन्धरा मानन्धरको नाममा स्थापित उक्त सम्मान हरेक २ वर्षमा नेपाली भाषाका उपन्यासकारहरुलाई प्रदान गरिँदै आइएको छ ।
त्यस्तै, संगीत र कला क्षेत्रका श्रष्टाहरुलाई पनि प्रतिष्ठानले सोही अन्तरालमा धुस्वा साय्मि सिर्जना पुरस्कारबाट सम्मानित गर्दै आएको छ । जस अन्तर्गत यस वर्षको धुस्वा साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्द सिं डंगोलले प्राप्त गर्ने भएका छन् ।
दुवै पुरस्कारका लागि सिफारिस समिति गठन गरिएको थियो । पुरस्कार वितरण कार्यक्रम भने यही माघ १ गते आयोजना हुनेछ ।