एमसीसीविरुद्ध बृहत प्रदर्शन: २२ राजनीतिक दल तथा संघसंगठन सहभागी

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघसंगठनहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

एमसीसी सम्झौतालाई संसदको कार्यसूची बन्न नदिन उनीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । एमसीसी संसदको कार्यसूचीमा पार्न अमेरिकाले दबाव दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शन गरिएको सहभागीहरुले जनाएका छन् ।

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् संघर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको २२ राजनीतिक दल तथा संघ संगठनहरुको भनाइ छ ।