इज्जत छाडेर माओवादी सरकारमा बसेको ओलीको टिप्पणी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले इज्जत छाडेर माओवादी सरकारमा बसेको टिप्पणी गरेका छन् ।

शुक्रबार भक्तपुरमा स्वदेश फर्किएका नेपालीहरुको प्रतिनिधिमूलक राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले इज्जत छाडेर माओवादी आफ्नो नेतृत्वको सरकार र अहिले कांग्रेस नेतृत्वको सरकारमा बसेको टिप्पणी गरेका हुन् । एमाले इज्जतसाथ सरकारमा र अहिले प्रतिपक्षीमा बसेको भन्दै उनले एमालेले आफ्नो नीति कार्यान्वयन गर्न र गलत नीतिको विरोध गर्ने बताए ।

ओलीले मुलुक अनावश्यक हिंसाको चपेटमा परेका कारण नै नेपालीहरु बिदेशीन बाध्य भएको धारणा राखे । उनले मुलुकको विकास गर्न एमालेले चेतना जगाएको जिकिर गरे । नेपाललाई विकासको बाटोमा अघि बढाउन नागरिकहरु पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले देशमा थुप्रै विकासका काम गरेको र त्यसलाई सहन नसकेर आफ्नाहरुले नै सरकार ढालेको बताउँदै एमाले मुलुकको विकासको यात्राबाट विचलित नहुने स्पष्ट पारे ।

ओलीले नेपाल जस्तो देश छाडेर काम गर्न विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको धारणा राखे ।