मन्त्री आलेको आक्रोश, खुलेआम ‘साँढे’ भन्दै कसलाई गरे गाली ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डका प्रमुख प्रशासकीय अधिकृत (सीईओ) धनञ्जय रेग्मीलाई ‘साँढे’को संज्ञा दिएका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै आलेले रेग्मीलाई सार्वजनिक रुपमै ‘साँढे’ भन्दै गालीगलौज गरेका हुन् ।

आफूलाई धेरै रिसाएको भन्दै रेग्मीले रक्सी खान जाउँ भनेको प्रसंग जोड्दै आलेले भने, “साँढेलाई राखेर बोर्ड चल्छ ? ” उनले आफूलाई खरिद गर्छु भनेर नसोच्ने चेतावनी समेत दिए । “चार ओटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,” उनले आक्रोश पोखे, “इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।”

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सिइओ पदमा नियुक्त गरेको थियो । रक्सीको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झगडा गरेपछि उनी विवादमा तानिएका थिए । त्यसपछि पदको दुरुपयोग गरेको र आर्थिक अनियमिततामा मुछिएको आरोपमा उनी यही पुस २ गते निलम्बनमा परेका थिए । तर सर्वोच्च अदालतले यही पुस १४ गते रेग्मीलाई निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।