आखिर किन दिए पुटिनले अमेरिकासँग सम्बन्ध तोड्ने चेतावनी ?

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई मध्यनजर गर्दै अमेरिकाले कुनै नयाँ प्रतिबन्ध लगाएमा अमेरिकासँगको सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको टेलिफोन वार्तामा पुटिनले अन्य प्रतिबन्ध लगाउनु अमेरिकाकै लागि प्रत्युत्पादक हुने बताएका हुन् ।

रुसको युक्रेनमाथिको हस्तक्षेपलाई ध्यानमा राखेर वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको यस्तो ठाडो चेतावनी आएको हो ।

नियमित अभ्यासका क्रममा तैनाथ गरिएको भन्दै रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दा बढी फौज तैनाथ गरेको छ । जसको विरुद्धमा युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । उक्त घोषणापश्चात् पुटिनले तत्काल प्रतिक्रिया दिए ।

पुटिन र बाइडेनबीच शुक्रबार बिहान टेलिफोन वार्ता भएको थियो ।