राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले तत्कालीन भारतको संस्थापनले पूर्वराजा बिरेन्द्रसामु राखेको ६ बुँदे शर्तहरु मानेको भए अहिले पनि राजसंस्था कायम हुने बताएका छन् ।
राजा बिरेन्द्रको जन्मजयन्तीको अवसरमा नेपाल प्राज्ञिक परिषद्ले बुधबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा लिङदेनले पूर्वराजा बिरेन्द्रले भारतको शर्त मानेको भए अहिले नाममात्रैको भएपनि राजसंस्था रहिरहने र बिरेन्द्र पनि मारिनुपर्ने परिस्थिति नआउने बताएका हुन् ।
उनले पूर्वराजा बिरेन्द्रले विदेशीसँग सम्झौता गर्नुभन्दा आफ्नै देशका राजनीतिक पार्टीसँग सम्झौता गर्ने अडान लिएको स्मरण गरे । लिङदेनले राजसंस्था सक्रिय हुँदा भएका गतिविधिहरु आफ्नो जीवनमा प्रेरणादायी रहेको धारणा राखे । २०३२ सालमा सिक्किममा राजसंस्थाको अन्त्य भएपछि भारतसँग विलय गराएको भन्दै उनले नेपालमा पनि राजसंस्थाको महत्व कायमै रहेको जिकिर गरे । उनले कुनै राजनीतिक दलको नेताभन्दा राजा नै देशभक्त हुने उल्लेख गरे । कार्यक्रममा सहभागीहरुले स्वर्गीय राजा बिरेन्द्रको व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।