कोरोनाले प्रभावित शिक्षालयका निमित्त प्रोत्साहनस्वरुप यस्तो सम्मान

एसोसिएशसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन)ले मन्टेश्वरी विद्यालयहरुको हौसला बढाउन अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अपेन केन्द्रीय समितिले पुस २४ गते टुरिजम बोर्डमा अपेन डाइनामिक लिडर अवार्ड–२०२१ को आयोजना गर्ने जानकारी दिएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष बद्रीप्रसाद दाहालले अपेन मन्टेशरी र बालबालिकासँग सम्बन्धित व्यक्ति र क्षेत्रको साझा संगठन भएको बताए । उनले कोरोना महामारीले बालबालिकाहरुलाई शिक्षा दिने संस्थाहरु अप्ठ्यारो अवस्थामा गुज्रिएर यहाँसम्म आइपुगेको उल्लेख गरे । उनले विशेष गरी यो क्षेत्रमा महिला उद्यमीहरु ९० प्रतिशत रहेको धारणा राखे । ५० अर्ब रुपैयाँ बराबरको मन्टेश्वरीमा लगानी भएको र कानून बमोजिम ५ हजार प्रिस्कुल सञ्चालित भएको उनले जानकारी दिए । कोरोना महामारीमा धान्न नसेकेर धेरै प्रिस्क्ुल बन्द भएको जानकारी दिँदै दाहालले त्यस्तो अवस्थामा पनि सञ्चालन गरेका उद्यमीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्न अवार्ड वितरण गर्न लागेको जानकारी दिए ।

त्यस्तै, कार्यक्रममा बोल्दै केन्द्रीय सचिव उमानाथ निरौलाले कोरोनाका कारण धेरै प्रि–स्कुल बन्द भएको बताउँदै प्रतिकुल अवस्थामा पनि स्कुल सञ्चालन गर्ने ३ सय स्कुलका प्रिन्सीपलहरुलाई हौसला स्वरुप अवार्ड वितरण गर्न लागेको जानकारी दिए ।