सरकारले सगरमाथाको नयाँ उचाईसहितको हुलाक टिकट प्रकाशन गरेको छ ।
बुधबार सिंहदरबारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर उचाई उल्लेख गरिएको सगरमाथाको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् । त्यस्तै आठ हजार मिटर भन्दा बढी उचाई भएका कञ्चनजंगा, मनास्लु, अन्नपूर्ण लगायतका ७ वटा हिमाल अंकित हुलाक टिकट प्रकाशन गरिएको छ ।
विभिन्न पदमार्ग, मिथिला आर्ट लगायत समावेश गरिएको सन् २०२१ को हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा मन्त्री कार्कीले टाँचा लगाएका थिए । कार्यक्रममा मन्त्री कार्कीले हुलाक टिकटले देशको आर्थिक, जैविक, सामाजिक, धार्मिक, राजनीतिक, भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई विश्वसामू प्रस्तुत गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
विभिन्न डिजाइनमा तयार गरिएको हुलाक टिकटको दर रु १० र २० रुपैयाँ कायम गरिएको छ ।