महाधिवेशन अपडेट: लम्बिने भयो माओवादी महाधिवेशन, कारण यस्तो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन निर्धारित समयावधिमा नसकिने भएको छ । पुस ११ देखि १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले लम्ब्याउने निर्णय गरिएको हो ।

नारायणकाजी श्रेष्ठले बताएअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो(सोमबार) बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेकाले महाधिवेशन लम्बिने भएको छ । महाधिवेशन १६ गतेसम्म सक्न प्रयास गर्ने नभए १७ गतेसम्म लम्ब्याउने विषयमा छलफल भएको छ उनले बताए ।

प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ ।

महाधिवेशनको दोस्रो दिन सोमबार प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको ४५ पृष्ठको वैचारिक एवम् राजनीतिक प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमा समान विचार राख्ने वामपन्थी र लोकतन्त्रवादी शक्तिबीच संयुक्त मोर्चा बनाउने आगामी कार्यदिशा अपनाइने उल्लेख छ ।