बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि नेपालका सन्तोषलाई, हर्षको आँसु रोकिएन(भिडियो सहित)

मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि जित्न सफल भएका छन् । जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा उनले उपाधि हासिल गरेका हुन् ।

उनका प्रतिस्पर्धीहरुमध्ये जामिया पार्क बीबीसी मास्टरसेफ २०१७ को सिजनका अन्तिम प्रतिस्पर्धी थिए भने बाँकी दुई फिली आर्मिटेज र बार्त धान डेर ली २०२० को अन्तिम सिजनका प्रतिस्पर्धी हुन् ।

उनले ग्रीन बनाना करी, भात, प्याजको सलाद, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनिया जस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए ।

साहले गत वर्ष ३२ जना प्रतियोगी सहभागी रहेको बीबीसी मास्टरसेफ द प्रोफेसनल २०२० को दोस्रो स्थानको उपाधि हासिल गरेका थिए । यो उपाधि हात पार्ने उनी पहिलो नेपाली हुन् । ग्राण्ड फिनालेमा पुगेका उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुको मन जितेका थिए ।

विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको लागि मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रम आयोजना गरिन्छ ।