नयाँ दिल्लीमा एक्कासी किन गरियो रात्रिकालीन कर्फ्यू घोषणा ?

भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमित बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यू जारी गरिएको छ ।

दिल्ली प्रदेश सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो ।

गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित थपिएकामा पूरै भारतभर सात हजारभन्दा धेरै नयाँ संक्रमण पुष्टि भएको छ । दिल्लीमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय भन्दा बढी छ ।

नजिकिँदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यू लगाउने निर्णय गरेको जनाइएको छ ।