श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारका क्षेत्रमा जाने कामदारका लागि तालिम केन्द्र स्थापना गर्ने तयारी भइरहेको जनाएको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्ने काम अघि बढाइएको जानकारी दिए । क्षमतावान श्रमशक्ति पठाउन नसक्दा वैदेशिक रोजगार क्षेत्र धरासायी अवस्थामा पुगेको उनले बताए । स्वदेशमा रोजगार सिर्जना गर्न नसक्ने हो भने वैदेशिक रोजगारमा नै सीपयुक्त श्रमिक पठाउनुपर्ने र यसका लागि सरकारले नै तालिम दिने जानकारी दिए । त्यस्तै सचिव अर्यालले अवैधानिक ढंगबाट कामदार पठाउने गर्दा समस्या देखिएको बताए । भ्रमणभिसामा श्रमिकहरु वैदेशिक रोजगार जाने गरेकाले भ्रमण भिसामा देखिएको विकृति र विसंगतिलाई हटाउनुपर्ने उनको भनाइ छ । वैदेशिक रोजगारमा जाने घरेलु कामदारले भोग्नुपरेका समस्याप्रति पनि मन्त्रालयले अध्ययन गरिरहेको जानकारी उनले दिए ।
बैठकमा समिति सदस्यहरुले वैदेशिक रोजगारका क्षेत्रलाई व्यवस्थित गर्न समितिले दिएको निर्देशन पालना नभएको बताएका थिए । पूर्व श्रममन्त्री एवम् समिति सदस्य रामेश्वर राय यादवले वैदेशिक रोजगारमा जाने कामदारलाइ कामको पूर्वजानकारी र सीपको व्यवस्थापन गर्नुपर्ने र यसका लागि आवश्यक कानून संशोधन गर्न सुझाव दिए ।
त्यस्तै समिति सदस्यहरुले घरेलु कामदारका विषयमा राज्य गम्भीर हुन नकसेका कारण नै उनीहरुले समस्या भोग्नुपरेको भन्दै आवश्यक नीति निर्माण गर्न ध्यानाकर्षण गराएका थिए ।