नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा दलहरुबीच एकता हुनुपर्ने बताएका छन् ।
पोखरेलले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्ने बताएका हुन् । उनले मुलुकमा पटक–पटक राजनीतिक क्रान्ति भएपनि परिवर्तनको प्रत्याभूति दिलाउन नसकिएको भन्दै यसमा भएका कमजोरीबारे सबै दलहरुले आत्मसमिक्षा गर्नुपर्ने जिकिर गरे । त्यस्तै पोखरेलले जनतामा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै एमालेको धारणा पनि यही रहेको स्पष्ट पार्दै अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको धारणा राखे ।
त्यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह माओवादीको जनयुद्धको जगमा भएको बताए । गठबन्धनको सरकार एक ठाउँमा भएको भन्दै विगतका गल्तीलाई सच्याएर अघि बढ्नुपर्ने उनको भनाइ छ । संघीय गणतन्त्रको विकल्प नरहेको भन्दै उनले संसद सञ्चालनलाई कसैले रोक्न नसक्ने पनि बताए ।
त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संविधान जारी भएको ५ वर्षभन्दा धेरै भइसक्दा पनि मधेसका माग सम्बोधन नभएको गुनासो गरे । राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले भने अझै पनि प्रतिगमनको खतरा कायमै रहेको बताइन् ।