ज्येष्ठ नागरिक दिवस: सरकारद्वारा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ आइतबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको छ ।

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो । वि सं २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव सेवा आश्रम राजीवनका ज्येष्ठ नागरिकसँग भेटघाट गरेको थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेपाललाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउनका लागि ज्येष्ठ नागरिकको भूमिका स्मरणीय रहेको बताइन् । उनले आवासविहीन भएर समस्यामा परेका ज्येष्ठ नागरिकको संरक्षणका लागि भूमिका खेल्नेहरुको प्रशंसा समेत गरिन् ।

कार्यक्रममा मन्त्री रेग्मीले मानव सेवा आश्रम राजीवनमा रहेका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेकी थिइन् । सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सहुलियत र सुविधाको व्यवस्था गरेको छ ।