काठमाडौं । केशवराज ज्ञवालीको पहिलो कथासङ्ग्रह अर्को भोर सार्वजनिक भएको छ । शिखा बुक्सद्वारा बजारमा ल्याइएको कथासङग्रहलाई काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा आयोजित एक समारोहमा पुस्तक लोकार्पण गरिएको हो ।
अमेरिकामा इन्जिनियरका रुपमा कार्यरत ज्ञवालीको कथासंग्रहलाई साहित्यकार तथा पूर्व सांसद नारायण ढकालले लोकार्पण गरेका हुन् । लोकार्पण समारोहको सभापतित्व शिखा बुक्सका प्रमुख पुष्पराज पौडेल थिए भने आख्यानकार समेत रहेका नारायण ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सुचारु भएको थियो ।
त्रिभुवन विश्वविद्यालयका नेपाली विभागका प्रमुख ज्ञानु अधिकारी र अंग्रेजी विभागका प्रमुख, युवा समालोचक, कथाकार महेश पौडेल टिप्पणीकारका रुपमा समारोहमा सहभागी भएका थिए । समालोचक महेश कार्की (क्षितिज)ले प्रस्तोताको रुपमा कार्यक्रमलाई साहित्यमय बनाएका थिए । टिप्पणीकारका रुपमा उपस्थित अधिकारीले कथाकारलाई बधाइ ज्ञापन गर्दै ज्ञवालीको भाषामा मिठोपन भएकोले कथासंग्रह पढ्न पाठकवर्गलाई आग्रह समेत गरे । कथाकारले पारम्पारिक मूल्यमान्यतालाई तोडेको अधिकारीको भनाइ छ ।
त्यसैगरी अर्का टिप्पणीकार पौडेलले सो पुस्तक पढनीय छ कि छैन भनी पाठकले नै फैसला गर्ने बताएका छन् । कथाकारले उज्यालोलाई मुख्य केन्द्रबिन्दु बनाएर लेख्न सफल भएको बताए । अन्य क्षेत्रमा लागेका मानिसले पनि साहित्य सिर्जना गर्दै आएकोमा ज्ञवालीको कथा संग्रह सफल बन्ने विश्वास व्यक्त गरे । कथाकारले अध्यात्मिक खुसीलाई पनि प्रष्फूटन गर्न सफल भएको बताए ।
समालोचक ज्ञानु अधिकारीले नारी संवेदनालाई छानेर राखिएको कथामा यौन मनोविज्ञानको संकेत पनि रहेको सुनाइन् । गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइरालाजस्ता कथाकारलाई पछ्याउँदै ज्ञवाली नेपाली साहित्यमा ‘अर्को भोर’ बाट उदाएको बताइन् । प्रमुख अतिथिको आसनबाट बोल्दै आख्यानकार नारायण ढकालले पनि कथाहरु राम्रा भएको बताए ।
अर्को भोर कथासंग्रहमा १४ वटा कथाहरु संग्रहित छन् ।