सीके राउत नेतृत्वको पार्टीद्वारा सवारीसाधन तोडफोड, जलाए ट्रक

तस्वीर: अनलाइन खबर

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड, आगजनी गर्दै बन्द चर्काएका छन् । औरही गाउँपालिकाबाट गहुँ लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेपछि राउत नेतृत्वको जनमत पार्टीले बन्द आह्वान गरेको हो ।

बन्द उल्लंघन गरेको आरोपमा सिके राउतका कार्यकर्ताले मिर्चैयामा गाडी तोडफोड गरी एक ट्रकमा आगो समेत लगाएका छन् ।

प्रहरी नभएको मौकामा उनीहरुले चार, पाँच वटा गाडीहरूको सिसा फुटाएका हुन् । प्रहरीका अनुसार सडक बन्द भने गर्न दिइएको छैन साथै लामो र छोटो दूरीका सवारी साधन सामान्य दिनजस्तै चलिरहेका छन् ।

गाउँपालिकाले किसानलाई नै वितरण गर्न भन्दै स्थानीय स्वास्थ्य चौकीमा गहुँको बिउ भण्डारण गरेर राखेको जनाएको छ, तर वितरण गर्न ढिलाइ गरेको भन्दै केही किसानहरुले सो गहुँ आफै लगेका थिए । गहुँ लुटेको आरोपमा प्रहरीले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ भने तीमध्ये, एक जनालाई पक्राउ गरेको छ । यसको विरोधमा जनमत पार्टीले गाउँपालिकामा तालाबन्दी गरेको छ ।