नेपालमा पनि बढ्दै क्रिसमसको रौनक, देशव्यापी रुपमा यसरी मनाइयो

आज इसाइ धर्मावलम्बीहरुको महान चाड क्रिसमस डे । विश्वभरि इसाइ धर्म मान्ने तथा अन्य धर्मावलम्बीहरुले पनि धुमधामका साथ मनाइरहेका छन् ।

यशु क्रीष्टको जन्मोत्सवका रुपमा मनाइने यस दिनलाई आफ्नाआफन्त, साथीभाइसँग भेटघाट गरी, एकअर्कासँग उपहार आदानप्रदान गर्ने, मीठोमसिनो खाने, क्रिसमस ट्री राखेर घरलाई झिलिमिलीले सजाएर आदिजस्ता क्रियाकलापमार्फत् क्रिसमसलाई इसाई धर्मावलम्बीहरुले मूख्य चाडको रुपमा मनाउने गरेका छन् ।

आजभोलि नेपालमा पनि यस दिनलाई विशेष महत्वका साथ मनाउने चलन देख्न सकिन्छ । यही सन्दर्भमा राष्ट्रिय क्रिष्टियन महासंघ नेपालले शनिबार भव्यरुपमा क्रिसमस मनाउने भएको छ ।

क्रिसमसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघले शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘येशु क्रिष्टको शुभ जन्मोत्सव क्रिष्टमस २०७८ तथा नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान’ आयोजना गरेर क्रिसमस मनाउने जनाएको थियो ।

महासंघले ‘क्रिसमस डे’ मानवलाई परमेश्वर पितासँग मिलाप गराएका मुक्तिदाता, उद्धारकर्ता तथा शान्तिदाता प्रभु येशु क्रिष्टको जन्मदिनको रुपमा मनाउँदै आएको छ । महासंघका अध्यक्ष सिबी गहतराजले क्रिसमसको पूर्वसन्ध्यामा सप्ताहव्यापी रुपमा देशभरका विभिन्न तहमा कार्यक्रमको आयोजना गरेर येशु क्रिष्टको जन्मोत्सव मनाइरहेको जानकारी दिँदै अगाडिका वर्षहरुमा क्रिसमसको विदा नपाउँदा अत्यन्तै दुःख लागेको बताए ।

क्रिष्टमस तथा अंग्रेजी नयाँ वर्ष २०२२ को उपलक्ष्यमा प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवी भण्डारी तथा अन्य अतिथिलाई निमन्त्रणा दिएको उनले जानकारी दिए ।