विविध कारणले परदेशमा बसोबास गर्ने आप्रवासी नेपाली इञ्जिनियर लेखकहरूको सपना र संघर्षको कथा समेटेको ‘आँंगन छोडेपछि’ सार्वजनिक भएको छ।
शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा आयोजित एक कार्यक्रमका बीच सो पुस्तक सार्वजनिक गरिएको हो । विभिन्न परिबन्धमा परेर विदेशिनु पर्ने सन्दर्भ, तात्कालीन मनोदशा, मानसिक र पेशागत अन्तरद्वन्द्वलाई संकलन गरी लेखिएको पुस्तकमा विदेश आइसकेपछिको सुरुवाती अनुभवहरूचित्रण गरिएको छ ।
कार्यक्रममा लेखकसमेत रहेका इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गरेका थिए ।
ऋषिराम पराजुली, कुसुम ज्ञवाली, कृष्ण कुसुम, केशव शर्मा, केशवराज ज्ञवाली, गोविन्दप्रसाद गौतम, जीवा लामिछाने, प्रमोद अमात्य, नगेन्द्र न्यौपाने, विजयराज भट्टराई, मधु माधुर्य, मनोज कार्की, राजन महर्जन, सतिश त्रिपाठी, सन्तोष न्यौपाने, शर्मिला पोखरेल र सुशील ताम्राकार गरेर १७ जनाले आफ्ना परदेशी अनुभव पुस्तकमा समावेश गरेका छन्। पुस्तकलाई कृष्ण कुसुम र केशवराज ज्ञवालीले सम्पादन गरेका हुन् भने सम्पादन समूहमा कुसुम ज्ञवाली, सतिश त्रिपाठी, विजयराज भट्टराई समेत रहेका छन् ।
पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसोबास गरी इन्जिनियरिंग पेशासँग सम्बन्धित १७ जना इन्जिनियरहरुको विदेशी भूमिमा गरेको संघर्षको संस्मरण लेखिएको छ। सो पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ।
नियात्राकार जीबा लामिछाने र गोविन्दप्रसाद गौतमले लेखकीय अनुभव, पुस्तकका दुई मध्ये एक सम्पादक केशवराज ज्ञवालीले सम्पादनको अनुभव सुनाएका थिए ।