त्रिभुवन विश्वविद्यालयले आफ्ना शिक्षक र कर्मचारीले राजनीतिक दलको चुनावमा भाग लिएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
विश्वविद्यालयका कर्मचारी तथा शिक्षकहरू राजनीतिक दलका महाधिवेशन र विधान अधिवेशनमा भाग लिएका समाचार आएको भन्दै त्रिविको केन्द्रिय प्रकाशन महाशाखाले विभागीय कारबाहीको चेतावनी दिएको हो । महाशाखाले विश्वविद्यालयको शिक्षक कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ६७ मा राजनैतिक निर्वाचनमा उम्मेदवार व्यवस्था भएको स्मरण गराउँदै त्यसो गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
मनोनयन दर्ताको दिनभन्दा १५ दिनअघि राजीनामा दिइसकेका शिक्षक र कर्मचारीले मात्रै उम्मेदवार बन्न सक्ने नियममा व्यवस्था छ ।
यसअघि नेपाली कांग्रेसको महाधिवेशन चलिरहेका बेला प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउने आदेश सर्वोच्च अदालतले दिएको थियो ।