विगत सरकारका योजनाहरु कटौती गरेको र प्रदेश सरकारले मन्त्रालय फुटाउने कार्य गरेको भन्दै नेकपा एमालेले बिहीबार पनि बागमती प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।
सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक सुरु गर्नासाथ एमालेका सदस्यले उठेर विरोध जनाएका हुन् ।
बैठकमा एमाले प्रदेशसभा सदस्य केशवराज पाण्डेले विना कारण आर्थिक भार थप्ने गरी मन्त्रालय फुटाइएको विषयमा सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए । उनले मुख्यमन्त्री प्रदेशसभाको बैठकबाट भागेको आरोप समेत लगाए । बैठकमा प्रदेश पर्यटन विधेयक र प्रदेश उच्च शिक्षा विधेयकलाई अन्तिम रुप दिने कार्यसूची रहेको थियो । त्यस्तै, आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद खनालले केही प्रदेश ऐन संशोधनका लागि पेश गर्ने कार्यसूची रहेको जानकारी सभामुख श्रेष्ठले गराएका थिए । तर एमाले प्रदेशसभा सदस्य पाण्डेले आफूहरुले राखेका विषयमा सरकारको धारणा नआएकाले बैठक चल्न नसक्ने बताएका थिए ।
एमाले प्रदेश सदस्यलाई पटकपटक बस्न आग्रह गरेपनि अवरोध जारी रहेपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरेका थिए ।