एमालेको अवरोधका बावजुत प्रतिनिधिसभामा विभिन्न अध्यादेश पारित

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधकाबीच बुधबार पनि प्रतिनिधिसभाले विभिन्न अध्यादेश पारित गरेको छ ।

बुधबार प्रतिनिधिसभाको बैठक सुरुभएलगत्तै एमाले सांसदले वेल घेराउ र नाराबाजी गरेतापनि कार्यसूची अघि बढाउँदै विभिन्न अध्यादेश पारित गरिएको हो ।

विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले जनताको आवाज मुखरित हुने संसदमा जनताका प्रतिनिधिको आवाज थुन्ने अवस्था आएको भन्दै यसले जनतामा निराशा उत्पन्न हुने बताएका थिए । उनले आफ्ना कुरा सुन्ने र अरुका कुरा पनि सुन्ने प्रक्रियामा सहयोग गर्न एमालेका सांसदलाई पटकपटक आग्रह समेत गरेका थिए । बैठक सञ्चालनकै लागि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम २ बमोजिम पटकपटक आग्रह गर्दै सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नपाइएको संवैधानिक व्यवस्थाबारे पनि ध्यानाकर्षण गराए ।

विरोध कायमै रहेपछि सभामुख सापकोटाले कार्यसूचीलाई अघि बढाइ बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ सम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश र रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक पौष १८ गते आइतबार बोलाइएको छ । गत साउन १ गते एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिश गरिएकामा त्यसको सुनुवाइ नगरेर पार्टी विभाजन गराउने कार्यमा सभामुखबाट सहयोग गरिएको आरोप एमालेले लगाउँदै आएको छ ।