नेपाल क्रिकेट संघ (क्यान) का ६ जना केन्द्रीय सदस्यहरुले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानका केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, अमितबीर पाण्डे, करण महतारा, मोहम्मद दाउत अन्सारी र संजय राज सिंहले खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका हुन् ।
नेपालमा सञ्चालन भएको ट्राइ–नेशन टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडीहरुलाई पुरस्कार रकम उपलब्ध गराउन पहल गर्नुको साटो अनुशासनको नाममा नियोजित ढंगले राष्ट्रिय क्रिकेट खेलाडीमाथि गरिएको कारवाही फिर्ता लिन उनीहरुले माग गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै क्यान सदस्य ऋषिराम गौतमले क्यानले एकलौटी रुपमा खेलाडीमाथि कारवाही गरेको आरोप लगाउँदै धेरै पटक असहमतिहरु जायर गरेपनि संघले आफूहरुको कुरा नसुनेको बताए । बहुमतको बलमा खेलाडीमाथि नियोजित रुपमा नै कारवाही गरिएको उनको भनाई छ । आइसिसिबाट पूर्ण रुपमा प्रतिबन्ध फुकुवा नहुँदै क्यानले अर्को विवादमा फस्न लागेको उनले बताए ।
त्यस्तै अन्य सदस्यहरुले धनगढीमा पुस दोस्रो साताका लागि तय भएको वार्षिक साधारण सभाको वैधानिक्तामाथिनै प्रश्न उठाएका छन् ।