विभिन्न दल आबद्ध मोर्चाले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेका छ ।
एमसीसी राष्ट्रघाती भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, नेकपा माले, नेकपा मसाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रिय स्वाधीनता रक्षा गरौं, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर लगायतका नारा लगाएका थिए । विरोधपछि आयोजित सभामा नेताहरुले देशभक्तहरुले एमसीसीको विरोध गर्नुपर्ने बताएका थिए । नेकपा (माले) का महासचिव सीपी मैनालीले एमसीसीमार्फत् अमेरिकाले नेपाललाई सैन्य रणनीतिको रुपमा प्रयोग गर्न खोजको तर्क गरे । त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी नेपालीहरुका लागि धोका भएको भन्दै एमसीसी सम्झौता खारेज नभएसम्म आफूहरु चुप लागेर नबस्ने बताए ।
त्यस्तै अन्य नेताहरुले सदनबाट एमसीसी पारित हुने अवस्था नरहेको दाबी गरेका थिए ।